यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्
यस लेखमा संसारका विभिन्न देशहरूका साथसाथै नेपालमा पनि विस्तारै विस्तारै फैलँदै गरेको झुटा शिक्षा “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर मान्नेहरूको वारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं ।
उनीहरू सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् ।