हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२
यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् 

 यस लेखमा संसारका विभिन्न देशहरूका साथसाथै नेपालमा पनि विस्तारै विस्तारै फैलँदै गरेको झुटा शिक्षा  “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर मान्नेहरूको वारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं । 

उनीहरू सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् । 

अब हामीहरू बाइबलबाट केहि यस्ता प्रमाणहरु हेर्नेछौं, जसले सिधै आङ सान होंग दोश्रो पटक आउनुभएका ख्रीष्ट हुन सक्दैनन् भनेर बताउछन । 

प्रमाण १:  येशूको दोश्रो आगमन कसरी हुन्छ ? बाइबलले यस बारेमा के भन्छ अनि आङ सान होंगले त्यो अगमवाणी पुरा गरे या गरेनन् ? 
यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछः “येशू जसरी जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १:११ हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरूका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरूलाई दुईजना स्वर्गदुतहरूले भनेका कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरी लेखिएको छः “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।”
यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरी स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४:२७ मा यसरी लेखिएको छः “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”
प्रकाश १:७ ले त झन् ख्रीष्टको दोश्रो आगमनमा उहाँ हरेक आँखाले देख्ने गरि आउनुहुनेछ भनेर भन्दछ ।
नता आङ सान होंग उही उचालिनुभएका ख्रीष्ट हुन्, नता उनी येशू उचालिनुभएझैं गरि आकाशको बादल हुदैं आए, नता उनी पूर्व पश्चिमका सबैका आँखाले देख्ने वा सबैले थाहा पाउने गरि आए । त्यसकारण हामी यो जान्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन् । 

प्रमाण २: के परमेश्वरले मूर्तिपूजा गर्नुभयो त ? के स्वर्गका परमेश्वरले पनि कहिल्यै मूर्तिपूजा गर्नुहोला      त ? 
हामी बाइबलबाट एउटा खण्ड हेर्नेछौं । प्रस्थान 20:3-5  मा यसरि लेखिएको छः “म बाहेक अरु कुनै देवता–देवीहरू नमान्नू ।............ मूर्तिहरूको सामु ननिहुरनु, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका डाह गर्ने परमेश्वर हुँ ।”     यो खण्डबाट हामी सजिलै बुझ्न सक्दछौं कि परमेश्वर मूर्तिपूजादेखि कति घिन मान्नुहुन्छ भन्ने कुरा । परमेश्वरले हामीहरूलाई त मूर्तिपूजा नगर्नलाई यति कडा चेतावनी सहितको आज्ञा दिनुहुन्छ भने के उहाँ आफैंले कहिल्यै मूर्तिपूजा गर्नुहोला त ? बाइबलमा अन्य कयौं खण्डहरु भेटिन्छन्, जसले स्पष्ट रुपमा परमेश्वरले मूर्तिपूजालाई घृणा गर्ने कुरा बता“उछन् । आङ सान होंग २९ बर्षको उमेरसम्म बुद्धिष्ट थिए । उनको परिवार एउटा कट्टर बुद्धिष्ट परिवार थियो । 

उनले यस अवधिमा थुप्रै पटक बुद्धको पुजा पनि गरेका थिए । अब हामी सहजै अनुमान लगाउन सक्दछौं,      के स्वर्गका परमेश्वरले कोरियामा आएर बुद्धको पुजा गर्नुभयो होला त ? अवश्य गर्नुभएन । त्यसकारण आङ सान होंग पिता वा पुत्र वा पवित्र आत्मा कोही पनि हुन सक्दैनन् ।

प्रमाण ३: के ख्रीष्टले पनि बिवाह गरेर घरजम गर्नुहोला त? 
ख्रीष्टले संसारमा आएर बिवाह गर्नुहुनेछ भनेर बाइबलमा कहीं कतै उल्लेख गरेको छैन । यसै अनुसार येशू प्रभुले पनि विवाह गर्नुभएन । यसको ठ्याक्कै उल्टो आङ सान होंगले बहुबिवाह गरे । यस बिचमा उनले ब्याभिचारको कारण बाहेक पनि विवाह बिच्छेद गरे । जब कि मत्ती १९:९ मा येशू प्रभुले सिधै भन्नुभएको छ कि व्याभिचारको कारण बाहेक सम्बन्ध बिच्छेद गर्ने जो कसैले पनि व्याभिचार नै गर्दछ । पहिलो आगमनमा यस्तो कुरा गर्ने येशू आफैंले दोश्रो आगमनमा चाहीं व्याभिचारको कारण बिना नै पनि बिवाह बिच्छेद गर्नुभयो होला त ? मत्ती २२:३० मा येशूले भन्नुहुन्छः किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् ।  यदि आङ सान होंग नै मृतकबाट बौरिउठ्नुभएका ख्रीष्ट हुन्थे भने त उनले पनि विवाह नगर्नुपर्ने होईन र? स्वर्ग र पृथ्वी बितेर जानेछन् तर मेरा बचन कहिल्यै बित्नेछैनन् भनेर उहाँले भन्नुभएको होइन र ? यहि कारणले गर्दा पनि हामी स्पष्ट हुन सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन् ।

प्रमाण ४: के ख्रीष्टलाई पनि कुनै रोग लाग्ला त ? के ख्रीष्टले पनि आँखा कमजोर भएर चस्मा लगाउनुपर्ने  अवस्था आउला त ? 
सुसमाचारको पुस्तकहरूको बिभिन्न खण्डहरूमा हामी देख्न सक्दछौंः येशूले हजारौं हजारलाई रोगमुक्त गराउनुभएको, जन्मैको अन्धालाई दृष्टि दिनुभएको अनि मरेको मान्छेलाई पनि जीवित पार्नुभएको कुरा । आङ सान होंगको उपलब्ध सबै फोटोहरुमा हामी देख्न सक्दछौं कि उनी चस्मा लगाँउथे । उनको आँखा निकै नै कमजोर भएका कारण उनले उच्च पावरको चस्मा लगाउनुपरेको थियो । उनको मृत्यु उच्च रक्तचापको समस्याको कारणले भएको थियो । बाइबलले त उही पहिलाको शक्तिशाली येशू अझैं शक्तिशाली भएर आउनुहुने अगमवाणी गरेको होइन र ? के आङ सान होंग नै ख्रीष्ट भएको भए साच्चैं ख्रीष्टले चस्मा लगाउनुपर्ने भएकै होला त ? के ख्रीष्टलाई पनि उच्च रक्तचापको समस्याले सतायो होला त ? के ख्रीष्टको मृत्युको कारण पनि कुनै रोग भयो होला त ? अवश्य भएन । त्यसैकारण हामी सजिलै भन्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् ।

प्रमाण ५: के ख्रीष्टको दोश्रो आगमनमा उहाँको मृत्यु हुन्छ ? कि उहाँ एकपटक मरेपछि फेरि मर्नुहुन्न ?      
पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरी लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन ।”
त्यसैगरी प्रकाश १:१७-१८ मा येशू प्रभु स्वयमले यसरी भन्नुभएको छः “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरु म सँग छन् ।”
ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसँग बताएका छन् । यदि त्यसो हो भने सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन त ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् । स्मरण रहोस आङ सान होंगको मृत शरीर आज पनि चिहानमा नै छ । कोरियामा Khayen Buk Yansan City Suke Park-5, Block-42, Line No. 12 मा उनको चिहान आज पनि देख्न सकिन्छ ।

माथि उल्लेख गरिएका यी पांच अकाट्य प्रमाणहरूले यो प्रमाणित गर्दछन् कि आङ सान होंग कुनै पनि अर्थमा ख्रीष्ट हुन सक्दैनन् । उनी त बरु बाइबल धर्मशास्त्रले अगमवाणी गरेका झुटा ख्रीष्टहरू मध्येका एक हुन् । यदि धर्मशास्त्रलाई खोतल्दै जाने हो भने आङ सान होंग दोश्रो ख्रीष्ट हुन् भन्ने गलत तर्कलाई खारेज गर्ने अरु दर्जनौं प्रमाणहरु भेटिन्छन् ।

निस्तार चाडको सम्बन्धमा
उनीहरू दावी गर्छन् कि हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको चौधौं दिन (लेवी २३:५) मा निस्तार चाड नमनाउने कसैले पनि उद्धार मुक्ति प्राप्त गर्दैनन् । तर पुरानो नियममा उल्लेखित यस चाड यहुदीहरूको निम्ति मात्रै हो भनेर पुरानो नियमका साथसाथै नयाँ नियमले पनि स्पष्ट बताँउदछ (यूहन्ना ६:४) ।
निस्तार चाड नमान्दासम्म मुक्ति पाउन असम्भव छ भन्ने उनीहरूको तर्क सम्पूर्ण हिसावले अबाइबलिय छ । ख्रीष्ट येशूले क्रूसको अति दर्दनाक पीडा सहेर उहाँमाथि विश्वास गर्नेहरूलाई कसैले हरण गर्न नसक्ने उद्धार-मुक्तिको प्रबन्ध गरिसक्नुभएको छ भनेर धर्मशास्त्रका विभिन्न खण्डहरूमा उल्लेख गरिएको छ ।

अब हामीहरू बाइबलबाट केहि यस्ता खण्डहरू हेर्नेछौं, जुन खण्डहरूले बताँउदछन् कि येशूले क्रूसको मृत्युद्वारा सबै पुराना बिधिबिधानहरू रद्द तुल्याउनुभएको कारण उहाँमाथि विश्वास गर्ने हरेकले निस्तार चाड बिना नै पनि उद्धारमुक्ति प्राप्त गर्न सक्दछन् ।
प्रेरित १६:३१
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले ।”
झ्यालखानाको हाकिमले पावल र सिलाससँग उद्धार पाउने उपायबारे सोध्दा उनीहरूले निस्तार चाड मान्नुस् अनि उद्धार पाउनुहुनेछ भनेर भन्दैनन् तर प्रभु येशूमा विश्वास गर्न सल्लाह दिन्छन् । यदि माता मान्नेहरूले दावी गरेजस्तै उद्धार मुक्ति प्राप्त गर्नलाई निस्तार चाड मान्नु अनिवार्य नै भएको भए पवित्र आत्माको प्रेरणाद्वारा बाइबल लेख्ने महान अबशर प्राप्त गरेका पावलले त्यसै अनुरुपको सल्लाह दिंदैनथे र? तल उल्लेखित खण्डहरू पनि हेर्नुहोलाः
गलाती ४:१०-११/कलस्सी२:१४-१६/हिब्रु ९:१२/एफिसी २:८-९/यूहन्ना ५:२४/यूहन्ना ६:४०/यूहन्ना ६:४७ यसरी हामी प्रष्ट हुन सक्दछौं कि मुक्ति पाउनलाई निस्तार चाड मान्नैपर्ने उनीहरूको दाबी इश्वरीय दाबी होइन ।

अक्सर सोधिने प्रश्नहरु
 
नोटः यस खण्डका सबै विवरणहरू छोटकरीमा प्रस्तुत गरिएका छन् । बुझ्न कठिन भएको खण्डमा आफ्ना अगुवाजनहरुसँग छलफल गर्नुहोला ।

१) प्रभुको मृत्युको सम्झनाको भोज अर्थात प्रभु भोजमा बर्षमा एकपटक सहभागी हुने कि पटक पटक? 
उनीहरुले दावी गर्छन्ः पुरानो नियमको आधारमा बर्षमा एकपटक हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको १४ औं दिनमा मात्र प्रभुको मृत्युको सम्झनामा रोटी भाँच्ने र कचौराबाट पिउने काम गरिनुपर्छ, पटक पटक सहभागी हुनुहुंदैन । 
तर बाइबल धर्मशास्त्रको १ कोरिन्थी ११:२५ मा यसरी लेखिएको छ: ................जहिले जहिले तिमीहरु यो पिंउछौ मेरो सम्झनामा यो अक्सर गर ।
यो अक्सर शब्दको अर्थ बिश्वबिख्यात विक्सनेरीले “प्रायः” वा “धेरैजसो” भनेर लगाएको छ । यसबाट हामी प्रष्ट हुन सक्दछौं कि बर्षमा एकपटक मात्रै सहभागी हुनपर्ने भन्ने उनीहरुको दावी बाइबल बिपरित छ ।
                                        
२) प्रकाश २२:१७ मा उल्लेखित “दुलही” ले कसलाई जनाँउछ ? 
उनीहरु दावी गर्दछन् कि प्रकाश २२:१७ मा भएको “दुलही” ले परमेश्वरको श्रीमतीलाई जनाँउछ । यो पनि दावी गर्दछन् परमेश्वरकी श्रीमती अहिले कोरियामा जीवित रहेकी झाङग गिल जाह हुन्, जो ख्रीष्ट भनिएका आङ सान होंगकी अबैधानिक श्रीमती थिइन् ।
तर बाइबलले स्पष्ट अर्थमा बताँउछ की ख्रीष्टकी दुलही चाँहि कोहि एक महिला नभएर मण्डली हो ।      पढ्नुहोसः २ कोरिन्थी ११:२-४ 
 
३) क्रिसमस वा इष्टर मान्न मिल्ने की नमिल्ने ? 
उनीहरुले भन्छन्ः क्रिसमस वा इष्टर मान्नु बाइबल बिपरित छ, यो मान्नु मूर्तिपूजा गर्नुजस्तै हो ।           मर्कुस ९:३८–४० लाई छलफल गर्ने हो भने हामी बुझ्न सक्दछौं की येशूको शिक्षाको बिरोध नगर्ने कुराहरूलाई येशूले कहिल्यै पनि रोक्नुहुन्न । त्यसप्रकारका कुराहरूलाई उहाँले सहजै स्वीकार गर्नुहुन्छ । येशूले अह्राउदै नअह्राउनुभएको ब्यक्तिले येशूको नाममा भुत धपाँउदा उहाँले त्यसलाई नरोक्न भन्नुभयो किनकि त्यस कामबाट पनि प्रभुको नै महिमा हुनेवाला थियो । त्यसरी नै  बाइबलमा स्पष्ट नलेखिएकै भए पनि सारा मानवलाई पापमुक्त गराउने परमेश्वरको अद्भुत र प्रेमपूर्ण योजनाको सम्झनामा हामीहरु उहाँकै महिमाको निम्ति क्रिसमस वा इष्टर मनाउछौं । हामीले मुक्ति पाउनको निम्ति नभएर परमेश्वरको महिमाको निम्ति मात्रै यी उत्सवहरू मनाँउछौ । मुक्ति पाउने आधार क्रिसमस वा इष्टर मान्नु नभएर हाम्रो विश्वास र परमेश्वरको अनुग्रह हो भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।