हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२

निस्तार-चाड होइन, प्रभु-भोज

"अनि अखमीरी रोटीका दिनहरूपछि हामीले फिलिप्पीबाट जहाज-यात्रा गर्‍यौं, र पाँच दिनमा उनीहरूकहाँ, ट्रोआसमा आइपुग्यौं, जहाँ हामी सात दिनसम्म बस्यौं। अनि हप्‍ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नाका निम्ति भेला भए, तब पावलले, जो भोलिपल्टै हिँड्नाका निम्ति तयार थिए, उनीहरूलाई वचन सुनाए, र मध्यरातसम्म वचन दिरहे" (प्रेरित २०:६-७)।

पवित्र शास्त्रको उपर्युक्त खण्डबाट हामी यो बुझ्दछौं कि पावल प्रेरित ट्रोआसमा आइपुग्दा अखमीरी रोटीका दिनहरू पूरा भएको कम्तीमा ५ दिन भइसकेको थियो। त्यसैले निस्तार-चाडको दिन पूरा भएको कम्तीमा १२ दिन भइसकेको थियो, किनकि वर्षको एक पटक मानिने निस्तार-चाडको लगत्तै पछि अखमिरी रोटीको एक हप्‍ताको चाड हुन्छ (प्रस्थान १२:६-१४ लाई प्रस्थान १२:१८ सित तुलना गर्नुहोस्; लेवी २३:५-६ पढ्नुहोस्)।

ट्रोआसमा आइपुगेर पावल ७ दिन बस्छन्। अब दिन गन्ती गर्दा निस्तार चाडको दिन पार गरिसकिएको कम्तीमा १९ दिन भइसकेको थियो। उक्त पर्खाइपछि हप्‍ताको पहिलो दिन (आइतबार) आइपुग्यो। त्यसै दिनमा "चेलाहरू रोटी भाँच्नाका निम्ति" भेला भएका थिए। यसको मतलब उनीहरू निस्तार-चाड मनाउनलाई भेला भएका थिए भन्न सकिन्न किनभने निस्तार-चाडको दिन पूरा भइसकेको अब कम्तीमा १९ दिन भइसकेको थियो। उनीहरू "रोटी भाँच्नाका निम्ति भेला भए" भन्नुको अर्थ उनीहरू निस्तार-चाड मान्नलाई नभएर "प्रभु-भोज" लिनका लागि भेला भए भन्ने हुनपुर्छ। यो प्रमाणित गर्न बाइबलका निम्न खण्डहरूलाई विचार गरौं।

प्रेरित २:४२ - "अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी‍ -भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे" -- प्रेरितहरू भएको यरुशलेमस्थित उक्त पहिलो मण्डलीमा उनीहरू "निस्तार-चाडमा लागिरहे" भनेर भनिएको पाइँदैन यद्यपि त्यतिखेर सबै ती विश्वासीहरू यहूदीहरू नै थिए। होइन, उनीहरू "रोटी-भँचाइ" मा लागिरहे। "लागिरहे" भन्ने बयानबाट रोटी-भँचाइ वर्षको एक पटक मानिने निस्तार-चाड जस्तो नभई प्रेरितहरूको शिक्षा, सङ्गति, प्रार्थनाहरू जस्ता बराबर गरिने विधि थियो भन्ने प्रस्ट हुन्छ।
१ कोरिन्थी ११:२३-२४ - "किनकि यो कुरा मैले प्रभुबाट पाएँ, जो मैले तिमीहरूको हातमा सुम्पि पनि दिएँ, अर्थात् प्रभु येशूले, जुन रात पक्राउ पर्नुभयो, त्यही रात रोटी लिनुभयो; र धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो, र भन्नुभयो: 'लेओ, खाओ; यो मेरो शरीर हो, जो तिमीहरूका निम्ति तोडिएको छ; मेरो सम्झनामा यो गर'" --
यो विधि पावल प्रेरितले प्रभुबाट प्रकाशद्वारा पाए। यदि यो निस्तार-चाड भएको भए त्यसो भन्नु पर्ने थिएन किनकि निस्तार-चाड झण्डै १५०० वर्ष अघि देखि चलिआएकै थियो; त्यो मोशाद्वारा दिइएको थियो; त्यो पवित्र शास्त्रमा उल्लेख भइसकेको कुरो थियो; "प्रभुबाट पाएँ" भन्नुको तात्पर्य यो विधि निस्तार-चाड भन्दा बेग्लै र नयाँ विधि हुनुपर्छ।
यो विधि प्रभुले बाह्र प्रेरितहरूलाई पनि दिनुभएको थियो भन्ने कुरा मत्ती २६:२६-२९, मर्कूस १४:२२-२५ र लूका २२:१९-२० मा उल्लेख छ। त्यहाँ प्रस्टै देख्‍न सक्छौं कि प्रभुले आफ्ना चेलाहरूसित त्यस रात पहिला निस्तार-भोज खानुभएको थियो (लूका २२:१३-१८) अनि त्यसपछि उहाँले एउटा बेग्लै र नयाँ विधिको आज्ञा दिनुभएको थियो (लूका २२:१९-२०); निस्तार-चाड मनाइँदा मिस्रदेशको दासत्वबाट परमप्रभुले उनीहरूलाई कसरी छुटकारा दिनुभएको थियो भन्ने कुराको स्मरण इस्राएलीहरूले (मण्डलीले होइन) गर्नुपर्थ्यो (प्रस्थान १२:२७); तर यस नयाँ विधिचाहिँ प्रभु येशू ख्रीष्टले क्रूसमा अर्पण गर्नुभएको उहाँको शरीर र बहाउनुभएको रगतको चित्रण गर्ने रोटीबाट र दाखरसबाट उहाँकै सम्झनामा हामी नयाँ नियमका विश्वासीहरूले लिनुपर्छ भन्ने उहाँकै आज्ञा हो।
१ कोरिन्थी ११:२५ - "जहिले-जहिले तिमीहरू यो पिउँछौं, मेरो सम्झनामा यो गर" -- हाम्रा प्रभु येशूको यस आज्ञाबाट हामी बुझ्छौं कि प्रभु-भोज बारम्बार लिइनुपर्छ। "जहिले-जहिले" को अर्थ वर्ष-वर्षमा भन्ने अर्थ लाग्दैन। "जहिले-जहिले तिमीहरू यो पिउँछौं" [मूल लेखोटमा οσακις αν πινητε (hosakis an pinete)] को व्याकरण सम्बन्धी टिप्पणी गर्दै ग्रीक भाषाविद ए. टी. रबर्टसन् यसरी लेख्छन्, "Usual construction for general temporal clause of repetition (an and the present subjunctive with hosakis)" (A.T. Robertson, Robertson's Word Pictures). अर्थात्, कुनै कार्यकलाप बारम्बार दोहोर्‍याइनुपर्ने हो भने त्यसलाई बयान गर्नलाई प्रायः प्रयोग हुने व्याकरणात्मक रचना यहाँ प्रयोग भएको छ। यसैले प्रभु-भोज हप्‍ता-हप्‍तामा लिन सकिन्छ (जसरी ट्रोआसको मण्डलीमा गरिन्थ्यो भन्ने देखिन्छ, प्रेरित २०:७)। प्रभु-भोज बारम्बार लिइनुपर्ने भनेर प्रभुले हामीलाई आज्ञा गर्नुभए तापनि कति-कति अवधिमा लिइनुपर्छ भनेर चाहिँ तोक्नुभएन। त्यसैले हामीलाई केही मात्रामा स्वतन्त्रता छ र कतिपय मण्डलीहरूमा प्रभु-भोज महिना-महिनामा लिने गरिन्छ। यसमा कुनै आपत्ति छैन, यो शास्त्र-सम्मत छ। यस सम्बन्धी थप चर्चा गरिएको पढ्न चाहनुहुन्छ भने अर्को लेख पढ्न सक्नुहुन्छ: प्रभु-भोजको अर्थ - बाइबलले के भन्दछ?
१ कोरिन्थी ११:२६ - "जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ, र यो कचौरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ" -- फेरि पनि यहाँ "जहिले-जहिले" को प्रयोग भएको छ। साथै रोटी र कचौराबाट लिनुपर्ने काम प्रभु येशू खीष्ट नआउन्जेल गरिनुपर्छ भनिएको यहाँ पाउँछौं। प्रभु येशू ख्रीष्टको पुनरागमन भइसकेको छैन। त्यसैले येशू ख्रीष्टको मण्डलीले आज प्रभु-भोज लिरहनुनैपर्छ।

निष्कर्ष: येशू ख्रीष्टको मण्डलीलाई निस्तार-चाड मान्नुपर्ने कतै आज्ञा छैन। उक्त आज्ञा इस्राएललाई दिइएको हो। (इस्राएल र मण्डलीबीचको भिन्नता बुझ्नलाई यहूदी, अन्यजाति र परमेश्वरको मण्डली अध्ययन गर्नुहोस्।) प्रभु येशूले मण्डलीलाई प्रभु-भोज लिनुपर्ने आज्ञा दिनुभयो। उहाँको पुनरागमन नभएसम्म यो आज्ञा स्थानीय मण्डलीहरूमा पालना गरिनुपर्छ। प्रभु-भोज बारम्बार लिइनुपर्छ। निस्तार-चाड जस्तो यो वार्षिक चाड होइन। शुरुका मण्डलीहरूमा यो बारम्बार लिइने गरिन्थ्यो भन्ने कुरा प्रेरित २:४२, प्रेरित २०:७ जस्ता खण्डहरूबाट पुष्टि हुन्छ।