हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२

वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड: झूटा चर्च / आनसानहोङ्ग: झूटा ख्रीष्ट

विश्वमा र नेपालमा पनि फैलिँदै गरेको यो एउटा झूटा चर्च अथवा "कल्ट" हो। येशू ख्रीष्टको सिद्ध बलिदान र बौरिउठाइमा विश्वास गरेर मुक्ति पाइन्छ भन्ने साँचो सुसमाचार (१ कोरिन्थी १५:१-४) को विपक्षमा खडा भएर मुक्ति पाउनलाई "निस्तार चाड" मान्नैपर्छ भन्ने उनीहरूको दाबी छ। तर परमेश्वरको वचन बाइबलअनुसार मुक्ति "विश्वासद्वारा अनुग्रहले" पाइन्छ, निस्तार चाड मानेर होइन। चाडद्वारा वा कुनै कामद्वारा मुक्ति पाइन्छ भन्ने जुनै पनि शिक्षालाई "ख्रीष्टको सुसमाचार उल्टापुल्टा पार्ने" "बेग्लै सुसमाचार" मा गनिनुपर्छ र त्यस सम्बन्धी उचित चेताउनी दिइनुपर्छ (गलाती १:६-८)।

"किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ" (एफेसी २:८-९)।

मुक्ति पाउनलाई नयाँ नियममा एउटै आज्ञा दिइएको छ --

"प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ" (प्रेरित १६:३१)।

मुक्ति विश्वासद्वारा पाइन्छ, व्यवस्था पालन गर्ने प्रयासले होइन। तर यस समूहले वर्षको एक पटक "निस्तार चाड" पालन नगरी मुक्ति पाइँदैन भनेर सिकाउँछ।

अर्को कुरा, यो समूह भ्रमात्मक छ किनकि यसले सत्यको वचन (बाइबल) लाई ठीक-ठीकसँग छुट्ट्याउँदैन (२ तिमोथी २:१५)। बाइबलमा भएका महत्त्वपूर्ण भिन्नताहरूलाई यसले बेवास्ता गर्दछ। यहूदी जातिलाई दिइएका आज्ञाहरू (व्यवस्था) लाई कुनै पनि रूपमा ख्रीष्टियनमाथि लागू गर्न खोज्नु भनेको प्रेरितहरूको समयमा यहूदीकरणवादीहरूले गरेको ठूलो भूललाई दोहोर्‍याउनु हो। तिनीहरू विश्वासमा आएका गैरयहूदी ख्रीष्टियनहरूकहाँ गएर यसरी शिक्षा दिँदै थिए: "मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउञ्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ" (प्रेरित १५:१)। यस प्रकारको दाबी गर्नेहरूलाई यरूशलेममा बसेको प्रेरितहरूको सभाले गलत ठहरायो। साथै अलमल्लमा परेका ती विश्वासीहरूलाई प्रेरितहरूको तर्फबाट एउटा पत्र लेखियो जसमा यो उल्लेख छ --

"कतिजनाले हामीकहाँबाट गएर 'तपाईंहरूको खतना हुनैपर्छ र तपाईंहरूले व्यवस्था पालन गर्नैपर्छ भनेर -- हुन ता त्यस्तो आज्ञा हामीले उनीहरूलाई दिएका थिएनौं -- तपाईंको मन उथलपुथल पारिदिएर तपाईंहरूलाई कुराहरूले कष्ट दिएका रहेछन्" (प्रेरित १५:२४)।

आज पनि चर्च जानेहरूलाई खोजी-खोजी "तपाईंको चर्च झूटा छ किनकि तपाईंहरूको चर्चले निस्तार चाड मान्दैन" भन्दै कतिलाई बहकाउने उनीहरूको नियत छ। तर वास्तवमा उनीहरू आफै बहकाउमा परेका छन् (२ तिमोथी ३:१३) किनकि वचनले प्रस्टै यस्ता झूटा शिक्षाहरूको पहिल्यै खण्डन गरिसकेको छ --

"यसकारण खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा वा औंसी वा विश्रामदिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्; यीचाहिँ आउनेवाला कुराहरूको छाया हुन् तर शरीर ता ख्रीष्टको हो (कलस्सी २:१६-१७)।

तसर्थ, ख्रीष्ट येशूमा विश्वास गरेको व्यक्तिकहाँ गएर निजलाई चाडको विषयमा दोषी ठहराउन खोज्नु गलत हो भनेर बाइबलले बताएको छ।

झूटा शिक्षा कसरी चिनिन्छ?
प्रेरितहरूको शिक्षालाई खण्डन गर्ने कुनै पनि शिक्षा झूटा आत्माद्वारा उत्प्रेरित भएको हुन्छ (१ तिमोथी ४:१)। परमेश्वरका आत्माको प्रेरणाद्वारा यूहन्नाले यसरी लेखेका छन् --

"प्रियहरूहो, हरेक आत्मालाई विश्वास नगर, तर आत्माहरूचाहिँ परमेश्वरबाटका हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर; किनकि अनेकौं झूटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्… हामी [यूहन्ना तथा अन्य प्रेरितहरू] परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ, उसले हाम्रो [प्रेरितहरूको] कुरा सुन्छ; जो परमेश्वरको होइन, त्यसले हाम्रो [प्रेरितहरूको] कुरा सुन्दैन। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मा चिन्छौं" (१ यूहन्ना ४:१,६)।

तसर्थ, चर्च अफ गड (वर्ल्ड मिसन सोसाइटी) झूटा चर्च हो किनभने यसले मुक्ति कसरी पाइन्छ भन्ने महत्त्वपूर्ण सवालमा प्रेरितहरूको स्पष्ट शिक्षालाई खण्डन गर्दछ। प्रेरितहरूका शिक्षाअनुसार मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ, तर वर्ल्ड मिसन सोसाइटी भन्छ, चाड नमाने मुक्ति पाइन्न।

यसलाई नेतृत्व गर्ने को हुन्?
दक्षिण कोरियाली आनसानहोङ्ग (सन् १९१८-१९८५) द्वारा सन् १९६४ मा वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडको शुरुआत भएको हो। उनी पहिला सेभेन्थ डे एडभेन्टिस्ट नामक अर्को झूटा शिक्षा समूहसित आवद्ध थिए। आनसानहोङ्ग झूटा भविष्यवक्ता हुन् किनभने उनले ख्रीष्टको दोस्रो आगमन सन् १९६७ र १९८८ मा हुनेछ भनेर दुई पटक झूटा भविष्यवाणी गरे। भविष्यवाणी झूटा ठहरिएपछि उक्त आगमन "गोप्य" रूपमा भएको भन्ने दाबी गर्दै झूटलाई ढाकछोप गरियो।

सन् १९८५ मा आनसानहोङ्गको मृत्यु भएपछि यसको नेतृत्व चङ्ग गिल् चाले गर्दै आएकी छिन् जसलाई अनुयायीहरूले "स्वर्गीय माता" भनेर मान्दछन्। सन् १९८८ मा आनसानहोङ्गका भविष्यवाणीहरू पूरा हुन नसकेपछि आनसानहोङ्गद्वारा प्रतिपादित चर्च अफ गडका शिक्षाहरूलाई पुनःव्याख्या गर्ने काम चङ्ग गिल् चाले गरिन् जो युवावस्थामा आनसानहोङ्गकी प्रेमिका थिइन्। मरिसकेका आनसानहोङ्गको जन्मलाई उनले अब ख्रीष्टको दोस्रो आगमनको संज्ञा दिइन् जब कि आफू जीवितै छँदा आनसानहोङ्गले म ख्रीष्ट हुँ भन्ने दाबी कहिल्यै गरेका थिएनन्। ख्रीष्टको दोस्रो आगमनमा उहाँको नाम "येशू" नै हुनेछ भन्ने कुरा आनसानहोङ्ग स्वयंले सिकाएका भए तापनि उनको मृत्युभएपछि "आनसानहोङ्ग" चाहिँ ख्रीष्टको "नयाँ नाम" हो भन्दै प्रकाश ३:१२ लाई दुरूपयोग गर्न थालियो। चङ्ग गिल् चा आनसानहोङ्गकी पत्नी भएकी नाताले उनी अब ख्रीष्टकी दुलही तथा स्वघोषित "पवित्र यरूशलेम माता" बनिन्। उनैले आनसानहोङ्गको जन्म आदि सबै कुरालाई गोप्यमा राखेकी छन्।

आनसानहोङ्ग: झूटा ख्रीष्ट
प्रथमतः प्रभु येशू ख्रीष्ट दोस्रो पटक आउनुहुँदा अर्कै व्यक्ति (आनसानहोङ्ग) भएर आउने कुरा झूटा हो। साथै उहाँ फेरि जन्मनुभई आउनुहुने कुरा पनि झूटा हो। यस कुरालाई पुष्टि गर्न बाइबलमा थुप्रै आधारहरू भए तापनि एउटै पदलाई यहाँ प्रस्तुत गर्नु काफी हुन्छ। प्रभु येशू ख्रीष्टको स्वर्गारोहणको घडीमा दुईजना स्वर्गदूतहरूले उहाँका चेलाहरूलाई यो घोषणा गरे,

"हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ" (प्रेरित १:११)।

उपर्युक्त पदबाट निम्न कुराहरू पुष्टि हुन्छ:

दोस्रो आगमनमा प्रभु येशू ख्रीष्ट बेग्लै शरीरमा नभएर आफ्नो स्वर्गारोहणकै शरीरमा आउनुहुनेछ।
जुन प्रकारले उहाँ स्वर्गतिर आरोहण हुनुभयो त्यही प्रकारले उहाँ पृथ्वीमा अवरोहण हुनुहुनेछ। येशू ख्रीष्टको दोस्रो आगमन जन्मरूपी आगमन हुनेछैन।
तर आनसानहोङ्ग बाइबल भविष्यवाणीअनुसार संसारमा आएका नभएर सन् १९१८ मा सामान्य रूपमा बौद्ध धर्मावलम्बी बाबु-आमाबाट जन्मेका हुन्।

साथै, साँचो ख्रीष्टले आफू बौरनुभएको केही समयपछि यसरी भन्नुभयो,

"नडराऊ, प्रथम र अन्तिम म नै हुँ। अनि जीवित म नै हुँ, म मरेको थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति जीवित छु" (प्रकाश १:१७-१८)।

तर आनसानहोङ्ग उनको मस्तिष्कमा रगत जमेर सन् १९८५ मा मरेर गए। साँचो ख्रीष्ट त कहिल्यै नमर्ने गरी सदासर्वदाका निम्ति जीवित हुनुहुन्छ!

अझ, साँचो ख्रीष्ट पापरहित हुनुहुन्थ्यो जसरी लेखिएको छ,

"उहाँले कुनै पाप गर्नुभएन, न ता कुनै छलकपट नै उहाँको मुखमा पाइयो" (१ पत्रुस २:२२)।

तर आनसानहोङ्गले झूटा भविष्यवाणीहरू गरे। उनले पटक-पटक विवाह र पारपाचुके गरे; उनले एकै समयमा एउटाभन्दा बढी पत्नीहरू राखे।

निष्कर्षमा, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडले मान्ने ख्रीष्ट बाइबलका ख्रीष्ट होइनन्। यसले मान्ने परमेश्वर बाइबलका परमेश्वर होइनन् ।